शुक्रबार ३१, बैशाख २०७८ Fri,14 May 2021

ढुस्यानको ओतमा..... जैकी मोजाहुृ



बुधबार २१ , माघ २०७७

 मुक ! सन्नाटा, उनी

...... उनका उनीजस्तै केही साथी..

. विश्वज्योति सिनेमा हलअगाडिको पेटी...

रछ्यानबाट कागजका केही टुक्रा,

केही झुत्रो लुगाफाटा, पोलिथिन अनि टायर बल्दैछ

गगनचुम्बी प्रदुषित विषालु धुवाँ फ्याँक्दै...।

‘रोमिषा ! थ्यांक यू रोमिषा !’

‘अब तिम्लाई बिसेक हुन्छ राजु ! यो ढुस्यानको तापले तिम्लाई स्वस्थ्य बनाउँछ ।’

‘कति बज्यो रोमिषा ?’

‘अबको चार घन्टापछि बिहान हुन्छ राजु ! भोक लाग्यो होला तिम्लाई खाऊ यो पाउरोटी ।’

‘नाइँ, म खान्न, खाऊ तिमी, तिमी पनि त भोकै छ्यौ नि ।’

टिट् टिट् टिटिट् टिटिट् टिटिट्.........

‘ए केटी, के गरेको यति राति हँ ? किन बालेको टायर ? आगो लाग्यो भने ? को हुन् ईनीहरू डर लाग्दैन तिम्हरूलाई छाडा ! तिम्रा बाउमाले यति राति तिम्हरूलाई....’

‘सर हाल्दिऊँ इन्हरूलाई भ्यानमा ?’ हाल्दे । ..... छाडा केटी !’

मलाई छोडिदिनुहोस् हजुर !

राजुलाई दुई दिनबाट सञ्चो छैन ।

उसलाई वीर हस्पिटलबाट ओखति ल्याउनुछ ।

चूप लाग् बेश्या ! बस् यस भ्यानमा ।’

बसन्तपुरको झ्यालखानामा

रोमिषा आँखाबाट खस्नै लागेको छ आँसुको थोपा मुहारमा कसैप्रति विह्वलता...

इन्सपेक्टर : तँ रातिराति केटाहरूसित सडकमै लिला देखाउँछेस् ।

नाम के हो तेरो ?

घर कहाँ छ ?

बाउको नाम के हो ?

फोन नम्बर ?

रोमिषा : बाउको नाम.......सुक्सुक् सुक्सुक् आवाज मात्र

ठेनागा, हाम्रो ठेगाना स.. सड... सडक, सडक हो सर

....सुक्सुक् सुक्सुक्..... फोन नम्बर.......

सुक्सुक् सुक्सुक् आवाज मात्र नाम...,

हजुरले मेरो नाम 'बेश्या' भनिसक्नुभयो, होइन र ?

हजुर.... सुक्सुक् सुक्सुक् आवाज जसले जे चाहन्छ,

त्यही राख्छ हाम्रो नाम यही हो मेरो परिचय,

हाम्रो परिचय

तातो ढुस्यान हाम्रो महलको एयरकन्डिशनर !

चीसो सडकपेटी हाम्रो ओछ्यान !

फोहरले फप्रेको डंगुर हाम्रो गन्तव्य !

मलाई छोडिदिनुहोस् सर, प्लीज मलाई छोडिदिनुहोस् ।

मैले राजुलाई ओखित लगिदिनु पर्नेछ ।

मुक् ! सन्नाटा ! स्तब्धता !

अनुत्तरित वातावरण !

बन्दीगृहको ढोका खुल्छ....

दुई हात जोड्दै रोमिषा बाहिरिन्छे उनका दुईजना साथी पनि बाहिरिन्छन्

‘धन्यवाद सर...

हामीलाई सम्भ्रान्त समाज र मिडियाले खाते भन्छन् खाते,

हजुर खाते अर्थात् हाम्रो वास्तविक पहिचान ।

Featured News

Advertisement