शनिबार ४, बैशाख २०७८ Sat,17 Apr 2021

चारो अभाबले मर्न थाले कुखुरा, पाँचथरका किसानको चार करोड जोखिममा



बिहीबार २३ , पुष २०७७

‘लकडाउन’का कारण चारो अभाव भएपछि व्यवसायिक रुपमा पालिएका ब्रोइलर कुखुराहरु मर्न थालेका छन् । पोल्ट्रि हाउसले किसानलाई आवश्यकता अनुसारको चारो उपलब्ध गराउन नसकेपछि कुखुरा मर्न थालेका हुन् । लकडाउपछि चारो आपुर्तिमा समस्या हुँदा पाँचथरमा चार करोड मूल्य बराबरका कुखुरा मर्ने स्थितिमा पुगेका हुन् ।  

फिदिम नगरपालिका ४ थाक्लेका केशब खनालको ब्रोइलर फर्मममा अहिले ११ सय कुखुरा छन् । चारो खान नपाएर एक सय कुखुरा मरिसके । बाँचेका कुखुराहरु पनि प्रयाप्त चारो खान नपाएर रुपिचरा जस्तै ख्याउटे भएका छन् । ‘मेरो ब्रोइलर फममा दैनिक एक सय ५० किलो चारो चाहिन्छ,’ खनालले भने ‘तर, १० किलो मात्रा चारो उपलब्ध छ ।’  

खनालको फर्मममा मासुका लागि कुखुरा उपयुक्त भएका छन्् । प्रयाप्त चारो खान पाउँदा चार  किलोसम्म कुखुरा हुनुपर्ने हो । तर,  चारो नपाएर दुई सय ग्रामका मात्रै कुखुरा भएका छन् । ‘मरेका कुखुराहरुको गाँड फोरेर बाँचेका कुखुराले चारो खाँदै छन्,’ खनालले भने ‘ यस्तै स्थिति रहे सबै कुखुरा मर्छन् । मेरो आठ लाख रुपैँया डुब्ने स्थितिमा छ ।’ बाँचेका कुखुराहरु पनि चारो खान नपाएर कुपोषित भएका छन् । 

फिदिम नगरपालिका २ पल्लोटारका प्रकाश बजगाइको ब्रोइलर फममा १५ सय कुखुरा छन् । यहाँ पनि चारो खान नपाएर कुखुरा मर्न थालेका छन् । ‘लाखौ रुपैँया डुम्ने स्थिति छ,’ बजगाईले भने ‘सरकारले कुखुराको दान पानीका लागि प्रबन्ध मिलाईदिए हुन्थ्यो ।’

पाँचथर कुखुरा व्यवसायी संघका सचिव कुमार खरेलका अनुसार जिल्लामा दुई सय किसानले ४० हजार कुखुरा व्यवसायिक रुपमा पालेका छन् । जसमध्ये ५० प्रतिशत कुखुराहरु मासुका लागि बिक्रि गर्न उपयुक्त भएका छन् । ४५ दिनको भएपछि ब्रोइलर कुखुरा मासुका लागि उपयुक्त हुन्छ । तर, लकडाउनका कारण  बिक्रि नलागेर ७५ दिनसम्मका कुखुरा फममै रहेको खरेल बताउँछन् ।  जसले गर्दा किसानले दोहोरा घाटा सहनुपरेको छ ।

‘एउटा कुखुरालाइ  कुखुरालाई दैनिक ५० ग्राम चारो चाहिन्छ,’ खरेलले भने ‘चारोको समस्याले गर्दा अहिले १० ग्राम मात्र उपलब्ध छ ।’  पाँचथरमा तीन ओटा पोल्टि फर्म छन् । ति फर्महरुले कुखुरापालक किसानलाई चारो उपलब्ध गराउँदै आएका  हुन् । पाँचथरमा दैनिक पाँच हजार किलो चारो आवश्यक पर्छ । लकडाउनपछि चारो आपुर्ति ठप्प भएपछि समस्या भएको छ । पोल्टि हाउसमा स्टक राखिएको चारो पनि सकिएको छ ।

झापाको चन्द्रगढी र इटहरीको पकलीबाट पाँचथरमा चारो आपुर्ति हुँदै आएको थियो । लकडाउनपछि चारो आपुर्ति ठप्प छ । ‘गोदाममा भएको चारो सकिएको छ,’ महादुर्गा पोल्टि हाउसका सञ्चालक प्रेम श्रेष्ठले भने ‘लकडाउनको समय लम्बिएपछि गोदामा स्टोर गरिएको चारो सकिएको हो ।’ स्टकरमा रहेको चारो सकिएपछि कुखुरा चारो खान नपाएर मर्ने स्थिति बनेको हो ।

मासुका लागि उपयुक्त भएको कुखुरा सरदर चार किलोको हुन्छ । किसानले प्रतिकिलो दुई सय ६० रुपैँयामा कुखुरा बिक्रि गर्दै आएका छन् । किसानले पालेका ४० हजार कुखुरा जोखिममा हुँदा चार करोड १६ लाख रुपैँया जोखिममा परेको हो । 

Featured News

Advertisement